काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका बहालवाल कर्णेल मिलन केसी बेपत्ता भएका छन् ।
शनिबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको सुकुटेस्थित सिन्धु बिज रिसोर्ट बगाउँदा कर्णेल केसी बेपत्ता भएका हुन् । उक्त रिसोर्ट बगाउँदा शनिबार ४ जना बेपत्ता भएका थिए । केही घण्टापछि २ जनाको शव फेला परेको थियो भने केसी सहित अन्य एक जना अझै बेपत्ता रहेका छन् ।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बोच निवासी केसी भक्तपुर खरीपाटीमा कार्यरत थिए । उनी कोरियन साथिहरुसँगै रिसोर्टमा थिए । रिसोर्ट बगेपछि उनी साथिको उद्धार गर्ने क्रममा शनिबार बेपत्ता भएको बागमती प्रदेशका डिआइजी कृष्णहरी शर्माले जानकारी दिए ।
शर्माका अनुसार कर्णेल केसीको परिचय पत्र भने भेट्टिएको छ । बिहिवार बिहानदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो मात्रामा धनजनको क्षती भएको छ ।
