काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष लगायतका पदाधिकारी र यातायात क्षेत्र सम्बद्ध तीनवटा ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरुसङ्ग संयुक्त रूपमा छलफल गरेका छन् ।
अध्यक्ष प्रचण्डले उनीहरुलाई आफ्नै निवास खुमलटार बोलाएर छलफल गरेका हुन् । छलफलमा उनले केही दिन पहिलेको बाढी पहिरो र डुबानबाट सडक यातायातको क्षेत्रको अवस्था, यातायात व्यवसायी र मजदुरले ब्यहोर्नु परेको जनधनको क्षती, बाढी र पहिरोमा फसेका यात्रु, सवारी साधन र श्रमिकको अवस्था, सरकारको तर्फबाट भएका काम र समस्याबारेको रिपोर्ट सुनेर त्यसका बारेमा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।
अहिलेको विषम परिस्थितिमा सरकारको प्रधानमन्त्रीको ध्यान आफुहरुको समस्यामा नगएको बेला पूर्व प्रधानमन्त्री तथा विपक्षी दलको नेताले बोलाएर बुझ्नु भएबाट आफ्ना समस्या सम्बोधनका लागि प्रभावकारी हस्तक्षेप हुने यातायात क्षेत्रका प्रतिनिधिहरुको विश्वास रहेको थियो ।
यातायात क्षेत्रका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डले उद्धार, राहत र पुर्नःस्थापनामा गरेको गरेको अगुवाईको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षको रुपमा सरकारले नगरेको काम गरेको बताएका थिए । आफूहरुलाई बोलाएर यातायात क्षेत्रको अभिभावको रुपमा भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्दै उनीहरुले प्रधानमन्त्रीले आजसम्म चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका थिए ।
प्रचण्डको नेतृत्वकालमा नै यातायात क्षेत्रको सुधारको विस्तृत प्रतिवेदन तयार भएको तर सरकारको फेरबदलले त्यसको कार्यान्वयन नहुदा आफुहरुलाई निरास भएको उनीहरुको भनाई रहेको थियो । जनताका समस्या सूत्रबद्ध गरि सरकारको ध्यानाकर्षण गराउने तयारीमा रहेको बेला यो छलफल महत्वपूर्ण हुने उनीहरुले बताए ।
यातायात क्षेत्रका प्रतिनिधिहरुले उपलब्ध साधन श्रोतका बीच दशैं, तिहारमा घर फर्कने नागरिकलाई महँगी नियन्त्रण गरि गुणस्तरीय सेवा प्रदान गर्न पनि ध्यानाकर्षण गराएका थिए ।
