काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
देउवा र नेपालबीच बुधवार कांग्रेस नेता डा. नारायण खड्काको निवासमा भेटवार्ता भएको हो । दुई नेताबीच भएको भेटमा मुख्यगरी सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार दुई नेताबीचको छलफलमा सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने बारे कुरा भएको र केन्द्रीय सरकारमा पनि नयाँ समिकरण बनाउनेबारे छलफल भएको छ ।
सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले भने प्रदेश संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको लागि अघि सारेको छ । एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्रीको लागि अघि सारेपछि सत्ता गठबन्धनमै रहेको दल नेकपा (एमाले) ले भने असन्तुष्टि जनाएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेस सभापतिलाई भेटेर सुदूरपश्चिम प्रदेश सरकार गठनबारे छलफल गरेपछि सत्ता गठबन्धनमा रहेका दलहरु तरंगीत बनेका छन् । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदैछ ।
