काठमाडौं । नोबेल कमिटीले यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसिएल इन्टिेलिजेन्स सम्बन्धी अनुसन्धानका लागि दुई जना वैज्ञानिकलाई संयुक्त रुपमा दिने घोषणा गरेको छ ।
अमेरिकी वैज्ञानिक जोन जे हपफिल्ड र ब्रिटिस क्यानेडेली वैज्ञानिक जफ्री इ हिन्टनलाई “आर्टिफिसियल न्युरल नेटवर्कमार्फत मसिन लर्निङलाई सक्षम बनाउनेतर्फ आधारभूत खोज तथा आविष्कार गरेकोमा” उक्त पुरस्कार उनीहरुलाई दिने निर्णय गरिएको नोबेल कमिटीले जनाएको छ ।
भौतिकशास्त्रतर्फ हालसम्म २२४ जनाले नोबेल पुरस्कार प्राप्त गरेका छन् । हपफिल्ड संयुक्तराज्य अमेरिकाको प्रिन्टस युनिभर्सिटीमा र हिन्टन क्यानडास्थित युनिभर्सिटी अफ टोरोन्टोमा प्रध्यापन गर्दछन् । उनीहरुले १.१ करोड स्वीडीस क्रोनर (८.१० लाख पाउण्ड) नगद पुरस्कार र पदक पाउने भएका छन् ।
यस अघि नोबेल कमिटीले यस वर्षको सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘माइक्रो आरएनए’ को अनुसन्धान गरेबापत वैज्ञानिकहरु भिक्टर एम्ब्रोस र ग्यारी रुबकुनलाई प्रदान गर्ने निर्णय गरेको थियो ।
अघिल्लो वर्ष (२०२३) को भोतिकशास्त्रतर्फको नोबेल पुरस्कार रसायन विज्ञान, भौतिक विज्ञान र प्रविधिको लागि अत्यावश्यक परमाणुहरूको मुख्य भाग इलेक्ट्रोनहरूसँगको कामको अनुसन्धानको लागि भौतिकशास्त्री एनी लुहुइलियर, पियरे अगोस्टिनी र फेरेन्क क्राउजलाई दिइएको थियो।
नोबेल पुरस्कारको स्थापना सन् १८९५ मा स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनेमाइटका आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो ।
नोबेल फाउन्डेसन द्वारा स्विडेनको वैज्ञानिक अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१ मा सुरु गरिएको यो पुरस्कार भौतिकशास्त्र, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा, र अर्थशास्त्र क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई प्रदान गरिन्छ ।
