काठमाडौं । उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधेको छ ।
मंगलबार उर्जामन्त्री दीपक खड्काको नेतृत्वमा बसेको बैठकले निर्देशक घिसिङलाई विगत चार वर्षमा प्राधिकरणबाट भएका सबै भए गरेका काम, सहमति सम्झौता, कर्मचारी र वित्तीय विवरण सहित माग गरेर १५ बुँदे स्पष्टिकरण सोधेको हो ।
उर्जामन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङलाई पठाइएको पत्रमा नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवम् आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धीत विगत चार वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरु, नेपाल विद्युतप्राधिकरणको सञ्चालक समितिले विगत चार वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण माग गरेका छन् ।
त्यस्तै नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुको विगत चार वर्षदेखिको वित्तीय विवरण, विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरण, महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औल्याएका बेरुजु मध्ये हालसम्म फछ्र्यौट हुन बाँकी रहेको बेरुजुको अद्यावधिक विवरण र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रुपमा गत ५ वर्षदेखि कोको रहेका छन् ? उनीहरुको पद र योग्यता खुलेको विवरण लगायतका विषयको विवरण मन्त्रालयमा पेश गर्नुपर्ने भन्दै मन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङलाई सोधेको स्पष्टिकरण पत्रमा उल्लेख गरिएको छ ।
मन्त्री खड्काले घिसिङलाई सोधेका प्रश्नहरुको जवाफ १५ दिनभित्र दिन माग गरेका हुन् । मंगलबार कार्यकारी निर्देशक घिसिङलाई मन्त्रालयले पत्र पठाउँदै १५ दिन भित्र लिखित जवाफ दिन भनेको मन्त्रालय स्रोतले जनाएको छ ।
