काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा फूलपानी भित्र्याइएको छ ।
गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपरान्ह्र बाजागाजासहित दशैंघरमा भित्र्याइएको हो । गोरखा दरबारका पुरोहितले हनुमान ढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाईंका साथ भित्र्याउने चलन रहेको छ ।
उक्त अवसरमा सैनिक मञ्च टुँडीखेलमा नेपाली सेनाले तोप पड्काएर फूलपाती बढाइँ समेत गरेको थियो । फूलपाती डोलीसहित नेपाली सेनाको टोलीले मंगल धुन समेत बजाएको थियो । फूलपातीलाई नौवटी देवीको प्रतिभाको रुपमा भित्र्याइ शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने चलन छ ।
आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।
