काठमाडौं । बाढी/पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग भोलीदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भोली (शुक्रबार) देखि बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिएका हुन् । ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग टेलीफोन सम्पर्क गरी जानकारी लिएको बताएका छन् ।
इन्जिनियर शर्मा मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका– ९ को दाउने भन्ने ठाउँमा रहेको र उनले भोली बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालन हुने जानकारी दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका – ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनु भयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद !”
यही असोज ११ र १२ गते अविरल रुपमा आएको वर्षाको कारण बाढी–पहिरोले देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका थिए । अधिकांश राजमार्गहरु सञ्चालनमा आइसकेका छन् । बीपी राजमार्ग पनि अवरुद्ध भएपछि खुलाउने क्रममा जारी रहेको थियो । अब भोलीदेखि बीपी राजमार्ग पनि पुनः सञ्चालनमा आउने भएको छ ।
