काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपतीले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन अनुरोध गरेका छन् ।
विजयादशमी २०८१ को अवसरमा एक भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद् अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान गरेका छन् ।
भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, “जो जहाँ छौं पीडामा परेकाको पीडा हराउनको लागि सहयोगी हातहरु बढाउन आग्रह गर्दछु ।” प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रीत रहेको जानकारी दिँदै आश्वस्त रहन उनले आग्रह गरे ।
“प्रकोपले किसानको अन्न बालीमा नोक्सान भएको छ । त्यसको मूल्यांकन गरेर क्षतीपूर्ती उपलब्ध गराउँछौं । भत्कीएका घरहरु पुनःनिर्माण गरी हस्तान्तरण गर्नेछौं । यसप्रति आश्वासन रहँदै सबैले दशैं मनाउन र मिल्नेहरुले टीका लगाउन म आग्रह गर्दछु,” प्रधानमन्त्री ओलीले भने ।
उनले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धेर्य धारण गर्न समेत आग्रह गरे ।
