काठमाडौं । नेपालमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंका, पाकिस्तान र बंगलादेश सहभागी हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । प्रवक्ता शाहका अनुसार सहभागी टोलीलाई एन्फा कम्पेलेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले बताए ।
प्रतियोगिताको टिकेटिङ्ग अधिकार भने माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्सलाई प्रदान गरिएको छ । प्रतियोगिताको समूह चरणको खेलको टिकटको दर साधारण प्याराफिटतर्फ ३ सय रुपैयाँ भीआईपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ । यस्तै नकआउट चरणका खेलको टिकटको दर प्याराफिटतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ कायम गरिएको छ ।
एन्फाका अनुसार प्रतियोगिताका खेल हेर्न १० वर्षसम्मका बालबालिकाहरुलाई निःशुल्क प्रवेश दिइनेछ ।
