पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले सर्वाेच्च अदालतबाट मुद्दा किनारा नलाग्दा सम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय सभामुखलाई जानकारी गराएको छ ।
सर्वाेच्च अदालतको अन्तिरिम आदेश र मुद्दाको पेशी समेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अपहेलना हुने गरी प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गर्ने र प्रदेश प्रमुखले प्रदेशसभा आहवान गर्नु गैर जिम्मेवार कार्य भएको कांग्रेसको ठहर छ ।
सर्वाेच्च अदालतले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम र दीर्घकालिन असर पर्ने निर्णयहरु नगर्न अन्तरिम आदेश दिएको थियो ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि सर्वाेच्च अदालतबाट अर्काे निर्णय नआएसम्म संसदीय गतिविधिमा सहभागी नहुने जनाएको छ ।
