काठमाडौं । नेकपा (एमाले) ले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले अन्तरमनबाट दान गरेको जग्गा स्वीकार गरेको बताएको छ ।
एमालेको पार्टी कार्यालय निर्माणको लागि मीनबहादुरले दिएको जग्गाको विषयमा चर्काे विरोध भएपछि एमालेले बुधवार एक विज्ञप्ति जारी गर्दै स्पष्टिकरण दिएको हो । एमालेले गुरुङसँग कुनै लेनादेना नरहेको र विचाराधीन मुद्दाको भागीदार उनी स्वयं हुने जनाएको छ ।
मीनबहादुरले अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले दान गरेको जग्गालाई स्वीकार गरिएको र यसमा कुनै पनि किसिमको सौदाबाजी र लेनादेना नभएको एमालेका केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरु अत्यन्त खेदजनक रहेको एमालेले जनाएको छ । ७५ वर्ष लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहमा लान्छाना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य रहेको गौतमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भाटभटेनीका मालिक गुरुङले दान गरेको कीर्तिपुर नगरपालिका वडा नं. २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गामा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्दैछ। गत असोज २४ गते बसेको सचिवालयको ३८औं बैठकले संस्थागतरूपमा उक्त जग्गा स्वीकार गरेको एमालेले जनाएको छ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असोज २५ गते पार्टी कार्यालय भवनको शिलान्यास गरेका थिए।
