काठमाडौं । दक्षिण अफ्रिका आइसीसी महिला टी- २० विश्वकप क्रीकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार सेमिफाइनलमा अष्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७.२ ओभरमा २ विकेट क्षतीमा पूरा गर्यो ।
दक्षिण अफ्रिका लागि एनेके बोशले विस्फोटक अर्धशतकिय इनिङ खेलीन । ४८ बलको सामना गरेकी बोशले नट आउट ७४ रन बनाइन ।
यस्तै दक्षिण अफ्रिकाकी लौरा वोल्भार्डले ४२ तथा तज्मिन ब्रीटिसले १५ रन जोडिन । बलिङतर्फ अष्ट्रेलियाकि अन्नाबेल सदरल्याण्डले २ विकेट लिइन ।
यस अघि यूएईमा पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १३४ रनको योगफल तयार गरेको थियो ।
ब्याटिङतर्फ अष्ट्रेलियाकी विकेट किपर बेथ मुनीले सर्वाधिक ४४ रनको योगदान दिइन भने एलिस पेरीले ३१ तथा कप्तान ताहलिया म्याकग्राले २७ रन जोडिन ।
बलिङतर्फ दक्षिण अफ्रिकाकी अयाबोंगा खाकाले सर्वाधिक २ विकेट लिइन भने मारिजाने क्यापले एक विकेट चट्काइन ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल शुक्रबार न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच हुनेछ । विजेता टोलीसँग आइतबार उपाधिका लागि दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्नेछ ।
