काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउ परे त्यसको प्रतिवादमा कार्यकर्ता उतार्ने तयारी गरेको छ ।
लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्ने चर्चा चलेसँगै बनस्थिलिस्थित रास्वपाको केन्द्रीय कार्यालयमा नेता, कार्यकर्ताहरु जम्मा हुन थालेका छन् । जिल्ला अदालत कास्कीले आजै लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न सक्ने आँकलन गरिएको छ ।
लामिछानेलाई पक्राउ गरी काठमाडौंसहित पोखरामा प्रदर्शन गर्ने तयारीमा रास्वपा जुटेको छ । रास्वपाको कार्यालयमा उपसभापतिद्धय डिपी अर्याल, स्वणीम वाग्ले, सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ लगायत पार्टीका केन्द्रीय तहका नेता, कार्यकर्ताहरुको बोक्लो उपस्थिति रहेको छ ।
रवि लामिछानेविरुद्ध आजै पक्राउ पुर्जी जारी हुन्छ वा हुँदैन भन्ने विषयमा भने एकिन छैन् । यस अघि रवि लामिछानेलाई पक्राउ गर्ने हल्ला चल्दा पार्टीले राजधानी काठमाडौंमा उपलब्ध नेता, कार्यकर्ताहरुलाई प्रतिवादको लागि भन्दै कार्यालयमा बोलाएको थियो ।
सहकारीको रकम हिनामिना गरेको विषयमा अनुसन्धान गर्न बनेको संसदीय छानबिन समितिले लामिछानेसहितलाई दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।
