पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा रास्वपा कार्यकर्ताहरुले पोखरामा विरोध प्रदर्शन गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेपनि रास्वपाका कार्यकर्ताले प्रदर्शन जारी राखेपछि उनीहरुलाई तितरवितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।
रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साटेर पक्राउ गरिएको भन्दै रास्वपाका कार्यकर्ताले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका छन् । उनीहरुलाई हटाउन प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।
केहीबेर प्रहरी र प्रदर्शनकारीहरुबीच एक आपसमा धकेलाधकेल समेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार पौने १२ बजेदेखि अर्काे आदेश जारी नहुँदा सम्म पोखरा महानगरपालिकाका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा जारी भएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । रवि लामिछानेलाई भने प्रहरीले म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।
