काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले भाटभटेनी प्रचण्डको हो भन्नेर खेपिरहेको हल्लालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सल्टाइदिएको बताएका छन् ।
शनिबार काठमाडौंमा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भाटभटेनी प्रचण्डको हो भनेर वर्षाैदेखि खेपिरहेको आरोपलाई यसपाली प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले प्रष्ट पारिदिएको बताए ।
ललिता निवासको सरकारी जग्गा प्रकरणमा कारबाही प्रक्रिया अगाडी बढाउँदा पनि भाटभटेनी प्रचण्डको हो भनेर आफूलाई हैरान पारेको उनले बताए ।
उनले भने, “म भाटभटेनी मेरो होइन र यसमा मेरो कुनै लगानी पनि छैन भन्थे, पत्याउँदैनथे । कसरी क्लियर गर्ने भनेर म हैरान थिए । कसरी क्लियर गर्ने भनेर, यसपाली भने केपी ओलीजीले क्लियर गरिदिनु भयो, म खुसी छु ।”
प्रधानमन्त्री ओलीले भाटभटेनीका मालिक पहिल्यैदेखि एमालेको कार्यकर्ता भएको भनेर भनिदिएपछि भाटभटेनीबारे आफूमाथि लाग्ने आरोप दूर भएको अध्यक्ष प्रचण्डको भनाई रहेको छ ।
