काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि बंगालदेशले जितेको छ ।
दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले २–१ गोलले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिप– २०२४ को उपाधि उचालेको हो ।
खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ५२ औँ मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।
बंगलादेशले अग्रता लिएको ४ मिनेटपछि नेपालकी अमिषा कार्कीले बराबरी गोल गरिन् । उनले सेन्ट्रल एरियाबाट प्रिती राईले दिएको पासमा उत्कृष्ट गोल गरेकी थिइन् । खेलको ८१ औँ मिनेटमा बंगलादेशको लागि ऋतु चक्माले गोल गरिन् ।
ऋतुले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले रोक्न सकिनन्। निर्धारित समयमा नेपालले गोल फर्काउन सकेन ।
योसँगै खेलमा बंगादेशले घरेलुटोली नेपाललाई २–१ गोलले पराजित गर्दै उपाधि उचालेको हो ।
बंगलादेशसँग फाइनलमा पराजित भएसँगै साफ महिला च्याम्पियनसिको उपाधि जितेर इतिहास रच्ने नेपालको सपना अधुरै रहेको छ । बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएसँगै नेपाल उपविजेतामा सिमित बनेको हो ।
