काठमाडौं । सुन तस्करी प्रकरणमा दोषी ठहर भएर जेलमा रहेका राहुल महरा रिहा भएका छन् ।
अदालतले तोकेको १४ महिना जेल सजाय भुक्तान गरेर राहुल कात्तिक १३ गते रिहा भएका हुन् । पूर्वसभामुख कृष्ण बहादुर महराका छोरा राहुललाई भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा अदालतले दोषी ठहर गरेको थियो ।
उनलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरी जेल सजाय तोकेको थियो । उक्त सजया भुक्तानी गरेपछि उनी रिहा भएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा राहुललाई २०८० भदौ १३ गते पक्राउ गरेको थियो ।
गत भदौमा फैसला भएको यस मुद्धामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव पोखरेलले राहुललाई १४ महिनाको जेल सजया सुनाएका थिए । पक्राउ परेको दिनदेखि जेल सजाय गणना गर्दा कात्तिक १३ गते १४ महिना पूरा भएको छ । सोही दिन राहुल रिहा भएको केन्द्रीय कारागार स्रोतले बतायो ।
भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले पूर्वसभामुख समेत रहेका राहुलका बुबा कृष्णबहादुर महरालाई पनि पक्राउ गरेको थियो । प्रहरीले महरालाई पाँच दिन हिरासतमा राखेर बयान लिएर रिहा गरेको थियो ।
