दाङ । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशले प्रदेश सरकारबाट फिर्ता हुने निर्णय गरेको छ ।
जसपालाई मुख्यमन्त्रीले २ वटा मन्त्रालय दिने लिखित सहमति गरे पनि अहिले उल्लंघन गरेकाले तत्काल सरकारबाट फिर्ता हुने निर्णय गरिएको जसपा प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए । यो सँगै लुम्बिनी मन्त्रीपरिषद्बाट जसपाका भण्डारीलाल अहिरले राजीनामा दिएका छन् ।
अहिरले शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र पठाउँदै पदबाट राजीनामा दिएका हुन् । जसपाका प्रदेश अध्यक्ष यादवले सरकारबाट फिर्ता भए पनि समर्थन भने कायम रहने बताए ।
चैत्र २५ मा विनाविभागीय मन्त्रीको शपथ लिएका अहिरले बैशाख ६ मा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनले पार्टीको निर्णय अनुसार आफुले राजीनामा दिएको बताए ।
