काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको एनपीएल फ्रेन्चाइज टिम कर्णाली याक्सले आफ्नो खेल पोशाक (जर्सी) सार्वजनिक गरेको छ ।
शुक्रबार हिल्टन होटलमा एक कार्यक्रमका बीच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गरेको छ ।
जर्सीमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने हिमाली भूभाग, रारा र से–फोक्सुन्डोको तालरूपी निलो रंग तथा कर्णालीमा पाइने याकको प्रतिक छ ।
मार्की खेलाडी सोमपाल कामी र ‘फेस अफ कर्णाली याक्स’ कलाकार स्वस्तिमा खड्काले नेपाल प्रिमियर लिगको लागि जर्सी प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा पूर्वउप–प्रधानमन्त्री पूर्णबहादुर खड्का, कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, क्यान प्रवक्ता छुम्बी लामा, टिम प्रशिक्षक ज्ञानेन्द्र मल्लसँगै कर्णाली याक्समा आवद्ध खेलाडीको सहभागिता थियो । पूर्वमन्त्री खड्काले कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना दिएका छन् ।
‘कर्णाली याक्सलाई प्रतियोगिता सफलताको लागि शुभकामना छ । कर्णालीबासीको तर्फबाट टोलीलाई जितको शुभकामना,’ खड्काले भने, ‘अहिले नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ । कर्णालीको हिमाली भाग, धार्मिकस्थल, कर्णालीसँगै जोडिएको भूभाग कैलाश मानसरोवर भ्रमण गर्न जो कोहीलाई कर्णाली याक्समार्फत हौसला प्राप्त हुने विश्वास छ ।’
प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ ।
कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ ।
