काठमाडौं । मानव तस्करी प्रकरणमा जोडिएका नेकपा (एमाले) कोशीका सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।
अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइँदै छ। ‘उहाँलाई पक्राउ गरिसकिएको छ, काठमाडौं ल्याउँदैछौं,’ प्रहरी स्रोतले भन्यो।
अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गरेको थियो।
अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्याउन खोजेको आरोप छ।
अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए। तर त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो।
डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए। जापानले डिपोर्ट गरेका तीन जना अहिले प्रहरी हिरासतमा छन्। उनिहरुको बयानको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
