काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धान भैरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
लामिछानेमाथि अनुसन्धान भैरहेकै समयमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित अधिवक्ता अनुपम भट्टराईले लामिछानेविरुद्ध मुद्दा दर्ता गराएका हुन् । यो मुद्दामा मंसिर तीन गतेका लागि पेशी तोकिएको छ ।
अपहेलना मुद्धामा रास्वपाका उपसभापति एवम् सांसद डा. स्वर्णीम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की लगायतका नेताहरुलाई विपक्षी बनाइएको छ ।
अधिवक्ता भट्टराईले सुरुमा दर्ता गराउन लिएको उक्त अपहेलना मुद्दा सर्वाेच्च प्रशासनले सुरुमा दरपिठ गरेको थियो । प्रशासनले दरपिठ गरेपछि भट्टराईले इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमा पहिलो सुरुवाई गर्दै अदालतले दरपिठ बदर गरेसँगै मुद्दा दर्ता भएको हो ।
सभापति रवि लामिछानेलाई सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीले पक्राउ गरेर पोखरा लिएपछि रास्वपाले निरन्तर रुपमा पोखरामा आन्दोलन गर्दै आएको थियो । हाल लामिछानेलाई प्रहरीले रुपन्देहीमा लेर अनुसन्धान गरिरहेको छ । रास्वपाले भने रुपन्देहीमा पनि आन्दोलन जारी राखेको छ ।
