विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को टीम विराटनगर किंग्सले जर्सी सार्वजनिक गरेको छ ।
विराटनगर किंग्सका मार्की खेलाडी सन्दीप लामिछानेले मंगलबार टीमको आधिकारीक जर्सी सार्वजनिक गरेका हुन् । विराटनगरमा जारी एक औपचारिक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, टिम प्रवद्र्धक पारस लुनिया लगायतको उपस्थितिमा लामिछानेले जर्सी सार्वजनिक गरेका हुन् ।
जर्सीसँगै विराटनगर किंग्सले टिमले आफ्नो ‘टिम एन्थम’ पनि र्साजनिक गरेको छ । टिम गान गायन कुशल पोखरेलले आफ्नै स्वर, लेखन र संगीतमा तयार पारेका हुन् । विराटनगर किंग्सले टिम फेसका रुपमा गायीका रचना रिमाललाई प्रस्तुत गरेको छ ।
विराटनगर किंग्समा सन्दीप लामिछाने मार्की खेलाडी, प्रतिश जिसी, बसिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, राजेश पुलामी, अनिल खरेल, दिपक बोहोरा, सुवास भण्डारी, नरेश भट्ट, मृणाल गुरुङ छन्।
त्यस्तै टिममा पाँच जना विदेशी खेलाडीहरूमध्ये न्यूजिल्याण्डका विष्फोटक ब्याट्सम्यान मार्टिन गुप्टिल, ओमानका कप्तान अकिब इलियास, निकोलस क्रिटोन, क्रिस सोल र इस्मत आलम छन्।
मंसिर १५ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने एनपिएलको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सको सामना गर्दैछ।
