काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपील गरेका छन् ।
समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो अपिल गरेका हुन् ।
कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव छ भन्ने निष्कर्षका साथ सुरू गरिएको सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्याउनु सबैको साझा जिम्मेवारी उनले बताएका छन् ।
आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन पनि भएको प्रधानमन्त्री प्रचण्डको भनाई रहेको छ ।
“विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ । यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ,” प्रधानमन्त्री प्रचण्डद्धारा जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
