काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
शिक्षा सचिवबाट निवृत्त भएका अधिकारीलाई सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत असार १८ गते प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका थिए ।
सचिव अधिकारीको कार्यकाल ५ वर्षको थियो । तर सचिवमा नियुक्त भएको एक महिनादेखि नै असन्तुष्ट बनेका उनले पदबाट राजीनामा दिएका हुन् । संसदमा प्रतिनिधि सभाको सचिवले बैठक सञ्चालनमा सभामुखलाई सहजीकरण गर्छन् ।
साथै बैठकको कार्यसूची निर्धारणदेखि बैठक सञ्चालनमा समेत सहयोग गर्छन् । सचिव अधिकारीले सभामुख देवराज घिमिरे विदेश भ्रमणमा गएका बेला राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाएका हुन् ।
सचिव अधिकारीले दिएको राजीनामा राष्ट्रपति पौडेलले सोमबारदेखि लागू हुने गरी स्वीकृत गरेका छन् ।
