काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्सविरुद्द जनकपुर बोल्ट्सले शानदार जित निकालेको छ । जनकपुरले लाहिरु मिलान्थाको उत्कृष्ट अर्धशतमा विराटनगरविरुद्ध ८ विकेटको जित निकालेको हो ।
त्रिवि क्रीकेट मैदानमा विराटनगरले दिएको १२७ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर १३१ रन बनाएर लक्ष्य पूरा गरेको हो ।
५३ बलको सामना गरेका मिलान्थाले ९ चौका ३ छक्काको मदतमा अविजित ७५ रन बनाए भने उनलाई साथ दिएका हर्ष थाकरले ३३ बलमा अविजीत ३६ रन बनाए । जनपुरले ओपनर एवम् मार्की खेलाडी आशिफ शेख डकआउट भएका थिए भने कप्तान अनिल कुमार शाह ५ रनमा आउट भएका थिए ।
विराटनगरका लागि क्रिश सोल र प्रतिश जिसीले समान एक–एक विकेट लिए । यस अघि पहिला ब्याटिङ गरेको विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्नु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
गप्टिलले ३६ बलमा अर्धशतक पूरा गरेका हुन् । ४३ बलको सामना गरेका गप्टिलले एक छक्का र ७ चौकाको मदतमा ५५ रन जोडेर आउट भए । विराटनगरका अकिव इल्यासनले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ जनकपुरका ललित नारायण राजवंशीले सर्वाधिक ३ विकेट लिए भने हर्ष थक्कर र किशोर महतोले समान २–२ विकेट चट्काए । त्यस्तै जनपुरका मोहमद महसिन र माइकलले एक–एक विकेट लिए ।
