काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको तराई–मधेशमा ४ दिन तातो हावा तथा तातो लहरको सम्भावना रहेको बताएको छ ।
विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा बिगत दूई दिन देखि तथा सुदूर पश्चिम प्रदेशको तराईका भू–भागको थोरै स्थानहरूमा बिगत एक दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
आगामी बैशाख १४ गते सम्म तराईका भु–भागहरुमा अत्याधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नु तथा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ ।
