काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्समाथि रोमाञ्चक जित हात पारेको छ ।
त्रिवि क्रिक्रेट मैदानमा पहिला ब्याटिङ गरेको कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १२६ रन मात्रै बनाउन सक्यो ।
विराटनगरलाई १२६ रनमै रोक्नको लागि कर्णालीका नन्दन यादव, विपिन प्रसाद शर्मा, कप्तान सोमपाल कामी र विलियम बसिस्टोले कसिलो बलिङ गरे पछि विराटनगरमाथि ७ रनको जित निकालेको हो । यो सँगै कर्णालीले दोस्रो जित निकालेको छ ।
नन्दनले सर्वाधिक ३ विकेट लिए भने विपिनले दुई विकेट लिए । त्यस्तै कप्तान सोमपाल र विलियम बोसिस्टोले समान एक–एक विकेट चट्काए । ब्याटिङतर्फ विराटनगरका निकोलस किर्तनले सर्वाधिक ४० रन बनाए भने लोकेश बमले १९ र दीपक बोहोराले १८ रन जोडे ।
पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै १३३ रनको योगफल तयार गरेको थियो । कर्णालीका देव खनाल र विलियम बोसिस्टोले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले ।
४७ बलको सामना गरेका बोसिस्टोले ५ चौका र ३ छक्काको मदतमा ६६ रन बनाएर आउट भए भने ४८ बलको सामना गरेका चार चौका र दुई छक्काको मदतमा ५३ रन बनाएर आउट भए । कर्णालीका शिखर धवन ५ रनमा आउट भए ।
कर्णालीलाई सस्तैमा समेट्न विराटनगरका प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए । क्रिस सोल र बसिर अहमदले समान दुई–दुई विकेट लिँदा अकिब इलियासले एक विकेट चट्काए ।
