काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेको निलम्बनको पत्र संसद सचिवालयमा पुगेको छ ।
लामिछानेको सांसद पद निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको पत्र संघीय संसद् सचिवालयमा आइतबार आइपुगेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार लामिछानेमाथिको कारबाहीको प्रक्रिया सोमबार अगाडी बढ्नेछ । सहकारी ठगी, संगठीत अपराध सँगै सम्पत्ति शुद्धिकरणमा लामिछाने संलग्न रहेको भन्दै कास्की प्रहरीले उनको सांसद् पद निलम्बन गर्न संसद् सचिवालयलाई पत्र पठाएको हो ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरेर जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।
