विराटनगर । सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जना कोइराला धरौटीमा रिहा भएकी छिन् ।
बुधवार जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सोही बमोजिम कोइरालाले १० लाख धरौटी बुझाएर रिहा भएकी मोरङका एसपी नारायण चिमोरियाले जानकारी दिए ।
मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।
गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी कोइराला फरार थिइन्।
यस सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । हालसम्म एक जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने एक जना धरौटीमा रिहा भएका छन् । बाँकी २३ जना प्रतिवादी अझै फरार रहेका छन् ।
