काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन बनेकै दिनदेखि देशमा राजनीतिक दुर्घटनाको खतरा बढेको दाबी गरेका छन् ।
शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट बनेको बताए ।
उनले भने, “संसदका पहिलो र दोस्रो ठूला दुई दल मिलेर सरकार बनाएकै दिनदेखि देशमा राजनीतिक दुर्घटनाको खतरा बढेकै छ । गएको ६ महिना सरकारका क्रियाकलापले पनि राजनीतिक दुर्घटनातर्फ गएकै छ ।”
सदन बोलाउनु पर्नेमा अध्यादेश ल्याएको र समितिमा विचाराधिन विद्येयक फिर्ता नै नगरी अध्यादेश जारी भएकाले कानुन मिचिएको दाबी गर्दै उनले भने, “सदनमा प्रस्तुत भएर समितिमा रहेको विधेयकलाई सदनबाट मात्रै फिर्ता लिन सकिन्छ । त्यो फिर्ता नगरी त्यस्तो विधेयकमा पनि अध्यादेश ल्याउने कुराले देशलाई राजनीतिक दुर्घनातिर धकेल्दै छ भन्ने प्रष्ट देखिएको छ ।”
संसद बैठक बोलाउन आग्रह गर्दै अध्यक्ष प्रचण्डले अध्यादेश फिर्ता लिन पनि जरुरी रहेको बताए ।
