मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन् ।
नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनैतिक महत्वको विषय भएको अध्यक्ष प्रचण्डले बताए ।
"हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौं, अब ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ। आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो", उनले भने ।
गत मंसिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उल्लेख गर्दै मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वटा जिताउनुका साथै अन्य वडामा पनि मत संख्या बढाएर पूर्वले विरोधीहरुलाई ठूलै जवाफ दिएको अध्यक्ष प्रचण्डको भनाई रहेको छ ।
उनले भने, "बिरोधीहरुले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुबैमा पहिलो पार्टी बनाएको छ । यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनैतिक महत्वको जीत हो।"
उनले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको उल्लेख गर्दै यहाँका जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताए । केन्द्रीय समिति बैठकको दस्तावेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको जानकारी पनि उनले गराए ।
उनले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताए ।
देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गरे ।
