दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिका- १ निवासी डिल्ले नेपालीको निधन भएको छ ।
६० वर्षीय नेपालीको शुक्रबार ठाँटीकाँध गाउँपालिका- १ स्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको उनका भाई सेते नेपालीले जानकारी दिए ।
गाउँघरमा धार्मिक, साँस्कृतिक लगायतका कार्यक्रमहरुमा बाजा बजाउने, सिलाई कटाइ, तरवार नाच र गायन क्षेत्रको नेतृत्व गर्दै आएका नेपालीले यस क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।
बाजा बजाउँदै सँगै गाउने निकै अदभूत कला भएका नेपाली मुख्य त बाउँ बाजा (दमाहा) बजाउने गर्थे ।
मौलीक संस्कृति, कला र सिपका धरोहरका रुपमा रहेका नेपालीको निधनले सिंगो गाउँपालिका नै शोकमग्न भएको छ ।
केही समय अगाडि नेपालीको स्वास्थमा समस्या देखिएपछि सुर्खेत र नेपालगन्ज लगेर उपचार गरिएको थियो । उपचार पश्चात उनलाई घर फर्काइएको हो ।
शुक्रबार एक्कासि हृदयघात भएपछि उनको निधन भएको हो । रोजगारीका लागि भारत गएका छोराहरू भोलि घर फिर्ता हुने भएकाले उनको अन्तिम दाहसंस्कार भोलि गरिनेछ ।
