काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले बयान लिएपछि परिवार र कानुन व्यवसायीको जिम्मा लगाएर छोडेको छ ।
लामिछाने बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठीत अपराधको कसुरमा परेको मुद्दाको प्रतिवादीका लागि बुधवार जिल्ला अदालतमा उपस्थित भएका थिए । जिल्ला अदालत पुगेका लामिछानेसँग न्यायाधीश प्रह्लादकुमार योगीले बयान लिएका थिए।
गोला थुत्दा लामिछानेको मुद्दा आफ्नो इजलाशमा परेपछि न्यायाधीश योगीले दिउँसो २ बजेपछि बयान सुरू गरेका थिए। बिहीबार बिहान १० बजे जिल्ला अदालतमा उपस्थित हुने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लगाएर पठाइएको ज्ञवालीले बताए।
यसअघि कास्की र काठमाडौंमा भने मुद्दाको थुनछेक बहस पुरा नहुँदासम्म अदालतले हिरासतमा राख्न आदेश दिएको थियो। स्रेस्तेदार ज्ञवालीका अनुसार लामिछानेको थुनछेक बहस बिहीबार बिहान १० बजेदेखि नै हुनेछ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराध कसुरमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राईसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको छ ।
