हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् ।
केन्द्रमा सत्ता समिकरण फेरिएसँगै बागमती प्रदेशमा पनि कांग्रसले मुख्यमन्त्री जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिए पछि उनले आज विश्वासको मत लिन लागेका हुन् । कुनै दलले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
कांग्रसले गएको फागुन २३ मा सरकारबाट बाहिरिनुको साथै मुख्यमन्त्री जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिएको थियो । शुक्रबार मुख्यमन्त्रीको दल नेकपा (माओवादी केन्द्र) का सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेश सचिवालयमा दर्ता गराएका थिए ।
११० सदस्यीय बागमती प्रदेशसभामा जम्कट्टेलले ५६ मत जुटाएमा उनले विश्वासको मत प्राप्त गर्नेछन् । बागमतीमा सत्ता गठबन्धनमा रहेका दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका गरी जम्मा ५५ सांसद रहेका छन् । हाम्रो नेपाली पार्टीको २ सांसद रहेका छन् । हाम्रो नेपाली पार्टीबाट पनि आफुले विश्वासको मत पाउने आशाका साथ मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिन लागेका हुन् ।
