काठमाडौं । नेपाल र कतारबीच द्धिपक्षीय प्रतिनिधिमण्डलबीच वार्ता जारी रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेतृत्वको प्रतिनिधिमण्डलबीच केही बेर अघि वार्ता सुरु भएको हो ।
दुई देशबीचको उच्चस्तरीय वार्ता काठमाडौंको सोल्टीमोडमा रहेको होटल सोल्टीमा चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीद्धय रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र श्रममन्त्री डिपी अर्यालसहित सहभागी छन् भने कतारको तर्फबाट राजा थानीसहितका उच्च अधिकारी उपस्थित छन् ।
प्रधानमन्त्री प्रचण्ड र कतारी राजा थानी नेतृत्वको द्धिपक्षीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार पक्षका समग्र पक्षमा विचारविमर्श हुनुका साथै क्षेत्रीय अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वार्तापछि उनीहरुको उपस्थितिमा द्धिपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ । नेपाल सरकार र कतारबीचको युवा तथा खेलकुद सहयोग, महान्यायाधिवक्ताको कार्यलय, नेपाल र कतारको सरकारी समाचार एजेन्सी, शिक्षा र संस्कृति आदानप्रदान गर्ने विषय, ईन्स्टिच्युट अफ फरेनअफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदानप्रदानमा हस्ताक्षर कार्यक्रम हुनेछ ।
