काठमाडौं । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा घाइते भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि कीर्तिपुर अस्पताल भर्ना गरिएको छ।
शनिबार दिउँसो कार्यक्रम उद्घाटन क्रममा बेलुन उडाउन लाग्दा नजिकैको आगोले बेलुनमा आगो लागेपछि त्यसको लप्काले अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई पोलेको थियो। दुवै जनालाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुर अस्पताल पुर्याइएको थियो।
अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई ५-६ प्रतिशत जलन भएको छ। अनुहारमा जलन भएकाले दुवै जनालाई उच्च निगरानीमा उपचार गरिएको निर्देशक नकर्मीले जानकारी दिए। अनुहारको जलनले स्वासनली र फोक्सोमा समेत असर पर्नसक्ने भएकाले उच्च सावधानी अपनाइएको उनले बताए।
उनीहरूको उपचारमा प्रा.डा. वि.डी. झा, डा. प्रविण गिरी, प्रा.डा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिष यादव, डा. प्रयुस अर्याल खटिएको अस्पतालले जानकारी दिएको छ। त्यस्तै निर्सिङ टोलीतर्फ रिना गौचन, निर्मला कुँवर र तृष्णा महर्जन खटिएका छन्।
गृहमन्त्री रमेश लेखकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् । कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर गृहमन्त्री रमेश लेखकले स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् ।
स्वास्थ्यअवस्थाबारे जानकारी लिएपछि गृहमन्त्री लेखकले सञ्चारकर्मीहरूसँग चिकित्सकहरूले राम्ररी उपचार गरिरहेको बताए । ‘पोलेको धेरै गहिरो छैन, बाहिर पोलेको छ भन्नुभएको छ । उपचार राम्रो भइरहेको छ,’ उनले भने ।
