मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदै छ : प्रचण्ड

प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदै छ : प्रचण्ड

लोकतन्त्र जति प्रचण्डको हो, त्यत्ति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता राजनीतिक दलहरूले राखेको

मंगलबार, फागुन २७ २०८१
मंगलबार, फागुन २७ २०८१
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका लागि देशका लगभग हरेक ढुंगामा जनताको रगत बगेको भन्दै त्यो कुरा नबिर्सन चेतावनी दिएका छन् । 

    मंगलबार प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले जनताको बलिदानबाट प्राप्त उपलब्धिमाथि  प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदै आएको बताए । ‘जनताको बलिदानपूर्ण लामो संर्घषबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कोसिस हुँदैछ’, प्रचण्डले भने, ‘मलाई लाग्छ सबैले स्थिति अलि जटिल छ भन्ने महसुस गरेकै छौँ ।’

    उनले सरकारमा बसेकाहरूलाई प्रश्न गर्दै हरेक वर्ग र समुदायले अब आन्दोलनबाहेक अरू विकल्पै देख्न छाडेको हो ? सरकारले जनतासँग संवाद गर्ने सामर्थ्य गुमाएको हो कि संवाद गर्न नचाहेको हो ? जनताको नजरमा सरकारको विश्वसनीयता र सरकारसँग संवादको औचित्य नै समाप्त भएको हो ? भनेर प्रश्न गरे ।

    ‘आज म ठुलो जिम्मेवारीका साथ, सँगसँगै चेतावनीका साथ पनि गणतन्त्रका लागि यो देशका लगभग हरेक ढुंगामा जनताको रगत बगेको छ, हामी कसैले नबिर्सौँ भन्न चाहन्छु’, प्रचण्डले भने,  ‘क्रान्तिको इतिहास पढ्नुहोस्, गणतन्त्रको जग कति फराकिलो छ ।’

    उनले हिजो राजतन्त्रमा गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको भन्दै अहिले राजावादीहरू सम्मानित संसद्मै रहेको स्मरण गराए । ‘ लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने राम्रो उदाहरण यो भन्दा केही हुन्छ र ? एउटा विचारका रूपमा राजतन्त्रसँग मेरा असहमति छन् तर म लोकतान्त्रिक हकको सम्मान गर्दछु ।’

    उनले लोकतन्त्र जति प्रचण्डको हो, त्यत्ति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता राजनीतिक दलहरूले राखेको पनि बताए । 

    ‘हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ । यो कुरालाई कमजोरी नठानियोस् । तर, लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले फेरि एक पटक आफ्नो शक्ति देखाउने छ’, प्रचण्डको चेतावनी छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार