एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघका राष्ट्रहरुबाट आउने मदिरामा २०० प्रतिशत कर लगाउने धम्की दिएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा फ्रान्स र युरोपेली संघका अन्य देशहरूबाट आउने वाइन, शैम्पेन र मादक पदार्थहरूमा २०० प्रतिशत कर लगाउने धम्की दिएका हुन् । अमेरिकी ह्विस्कीमा युरोपेली देशहरूले लगाएको ५० प्रतिशत कर नहटाए यस्तो कदम चाल्ने उनले बताएका हुन् ।
यो कदम अमेरिकी कम्पनीका लागि धेरै राम्रो हुने राष्ट्रपति ट्रम्पको भनाई रहेको छ । “यो अमेरिकामा वाइन र शैम्पेन व्यवसायका लागि उत्कृष्ट हुनेछ,” उनले भने । बुधबार युरोपेली संघले अप्रिलदेखि चरणबद्ध रूपमा २८ अर्ब डलरको अमेरिकी सामानहरूमा कर लगाउने घोषणाको प्रतिक्रियामा उनले यस्तो धम्की दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले अप्रिल २ बाट धेरै देशहरुमा सामान शुल्क लगाउने घोषणा गरिसकेका छन् । जुन देशहरुले अमेरिकी सामानमा जति कर लगाएका छन्, ती देशका सामानहरुमा त्यती नै कर लगाउने उनीहरुको योजना थियो ।
पछिल्लो पटक भने उनले ५० प्रतिशत करको बदलामा त्यसको चार गुणा बढी अर्थात् २०० प्रतिशत कर लगाउने धम्की दिएका हुन् ।
