काठमाडौँ । पूर्व प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्ने समय यही भएको बताएका छन् ।
शनिबार समाजवादी मोर्चाको बैठकमा सहभागी हुन अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
शुक्रबार तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलन हिंसामा परिणत भए पश्चात आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पनि तोडफोड भएको थियो।
तोडफोड गरिएको एकीकृत समाजवादीको पार्टी कार्यालय अवलोकन पश्चात अध्यक्ष प्रचण्डले हिजोको हिंसात्मक घटनामा पूर्व तयारी नभएको बताए । हिजोको घटनामा प्रहरी र सरकारको पूर्व तयारी नभएको अध्यक्ष प्रचण्डको भनाइ रहेको छ।
उनले भने “प्रहरी र सरकारको पूर्व तयारी देखिएन यहाँ आक्रमण भयो भनेर जानकारी गराउँदा पनि ४०–४५ मिनेटसम्म पनि प्रहरी नपुग्नु विडम्बना हुनुपर्छ । हामीले यो स्तरको दुर्घटना होला भनेर सोचिएन मुटुमै यस्तो घटना हुँदा पनि समयमै प्रहरी आउन नसक्ने यो विषयमा सरकारले गम्भीर समीक्षा गरोस्।”
ज्ञानेन्द्र शाहको आपराधिक मानसिकता भएको पहिले पनि देखिएको र अहिलेको अहिले पनि देखिएकाले ले उचित कदम चाल्ने समय यही भएको उनले बताए ।
“शाहीको मानसिकता नै अपराधिक भएको पहिले पनि देखिएको हो। अहिले पनि देखियो। यस्ता काण्ड ज्गर्नेलाई सरकारले कानुनी दायरामा ल्याओस्। ज्ञानेन्द्र शाहलाई छाडा हुन नदियोस् समय यही नै हो सरकारले कदम चालोस्,” उनले भने ।
