काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ महानगरपालिकाले गरेको जरिवानाप्रति आपत्ति जनाएका छन्।
यो तिनकुनेमा राजावादीहरूले गरेको आन्दोलनका क्रममा फोहोर गरेको लगायतका विभिन्न शीर्षकमा काठमाडौँ महानगरपालिकाले पूर्व राजा शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।
महानगरपालिकाले पूर्व राजा शाहलाई जरिवाना तोकेपछि रापर्पा नेपालका अध्यक्ष कमल थापाले फेसबुकमा स्टाटस जारी गर्दै आपत्ति जनाएका हुन् । उनले समाजिक सञ्जाल फेसबुकमार्फत हिजोको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद भएको उल्लेख गरेका छन्।
गलत ठेगानामा पत्र पठाएर स्टनबाजी गरिएको आरोप लगाउँदै अध्यक्ष थापाले मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला भनेर आफू अलमलमा रहेको बताएका छन् ।
उनले लेखेका छन्, “संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्विकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ।” पूर्वराजा शाहलाई पठाइएको पत्रमा उल्लेख गरिएको भाषा पनि अशिष्ट र अमर्यादित छ रहेको थापाको दाबी छ ।
“पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो। पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ,” थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
