काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमै गर्ने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी बैशाख ११ गते तोकिएको पूर्वनिर्धारित समयमै गर्ने निर्णय गरेको हो । बैठकले निजामती कर्मचारी खटाएर भएपनि आगामी बैशाख ११ गतेदेखि तोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्ड बैठकमा उपस्थित भएका अधिकांश अधिकारीहरुले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन गर्ने र यसका लागि प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाउनु पर्ने बताएका थिए ।
शिक्षकहरुले शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर देशै भरीका शिक्षकहरु काठमाण्डौं केन्द्रीत आन्दोलनमा रहेकाले कक्षा १२ को परीक्षा तोकिएको समयै हुने वा नहुने विषयमा चासो बढेको थियो ।
बोर्डको बैठकमा अधिकांश अधिकारीहरुले निजामती कर्मचारीहरुले लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सक्छन् भने १२ को परीक्षा पनि सञ्चालन गर्न सक्नेमा जोड दिएका थिए । बैठकमा परीक्षा सञ्चालन जिल्ला समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारीलाई नै परीक्षाको सबै जिम्मा दिने विषयमा समेत छलफल भएको छ ।
सरकारसँग माग राखेर २१ औँ दिनसम्म काठमाडौंमा आन्दोलनरत शिक्षकहरुले भने आफ्ना माग पूरा नभएसम्म विद्यालयमा नफर्किने भन्दै कक्षा १२ को परीक्षा सार्नुपर्ने बताउँदै आएका छन् । शिक्षक आन्दोलन चर्किदै गएको समयमा शिक्षा मन्त्री विद्या भट्टराईले भने हिजो पदबाट राजीनामा दिइसकेकी छिन् ।
