काठमार्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समय सारेर बैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको बोर्डको बैठकले कक्षा १२ परीक्षा बैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्ने विषयमा अध्यक्ष शर्मासहित शिक्षा सचिव दिपक काफ्लेसँग छलफल गरेका थिए ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले परीक्षा सार्न सकिने खण्डमा परीक्षा सार्न अनुरोध गरेका थिए । छलफलपछि बोर्डले पूर्वनिर्धारित समय बैशाख ११ गतेदेखि गर्ने भनेको १२ कक्षाको परीक्षा स्थगित गरेर बैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
विगत २१ दिनदेखि शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर देशै भरीका शिक्षकहरु काठमाण्डौं केन्द्रीत आन्दोलनमा जारी राखी अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको हो । यस अघि बोर्डले निर्धारित समयमै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो ।
बिहान बसेको बोर्डको बैठकले निजामती कर्मचारीलाई खटाएर भए पनि कक्षा १२ को परीक्षा आगामी बैशाख ११ गते तोकिएको पूर्वनिर्धारित समयमै गर्ने निर्णय गरेको थियो । कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सहभागी गराउनु पर्ने भनेपछि प्रधानमन्त्री ओलीले पनि बोर्डलाई परीक्षा सार्न आग्रह गरेका थिए ।
