मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

भाकपा

भाकपा माओवादीका महासचिव नम्बाला केशव रावसहित २७ नेताको हत्या 

भाकपा माओवादीका महासचिव नम्बाला केशव रावसहित २७ नेताको हत्या 

भाकपा माओवादीद्धारा महासचिव रावसहितका नेताहरुको हत्याको निन्दा गर्नुको साथै स्वतन्त्र अनुसन्धानको लागि आह्वान

शुक्रबार, जेठ १० २०८२
शुक्रबार, जेठ १० २०८२
  • काठमाडौं । भारातीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव वसवराजु नामले चिनिने नम्बाला केशव रावसहितका नेताहरुको हत्या गरिएको छ ।

    छत्तीसगढको घना जंगलमा भारतीय सेनासँगको मुठभेटका क्रममा भारतीय माओवादीका महासचिव नम्बालासहित २७ जना माओवादी मारिएको भारत सरकारले बुधवार घोषणा गरेको हो । 

    भारतका गृहमन्त्री अमित शाहले समेत सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘नक्सलवाद अन्त्य गर्ने लडाइँमा ऐतिहासिक उपलब्धि। आज, छत्तीसगढको नारायणपुरमा भएको एक कारबाहीमा, हाम्रा सुरक्षा बलहरूले २७ जना माओवादीहरूलाई मारेका छन्, जसमा भाकपा (माओवादी) का महासचिव, शीर्ष नेता र नक्सलवादी आन्दोलनको मेरुदण्ड, नम्बाला केशव राव उर्फ ​​बसवराजु पनि समावेश छन्।’

    शाहका अनुसार ‘अपरेशन ब्ल्याक फरेस्ट’ नाम दिइएको यस कारबाहीमा ५४ जना माओवादीलाई गिरफ्तार गरिएको छ भने ८४ जनाले आत्मसमर्पण गरेका छन्। 

    यसलाई माओवादी विद्रोहविरुद्ध भारत सरकारले वर्षौंयता हासिल गरेको सबैभन्दा महत्वपूर्ण विजय भएको बताइएको छ । इन्जिनियर बनेका रावलाई मध्य भारतमा जारी विद्रोहको मेरुदण्ड मानिन्थ्यो । उनले सुरक्षा बलमाथि भएका कैयौँ ठुला आक्रमणको योजना बनाएको विश्वास गरिन्छ । तिनमा सन् २०१० मा ७६ जना सुरक्षाकर्मी मारिएका चिलतानार एम्बुस पनि समावेश छ ।

    राव प्रतिबन्धित भारतीय कम्युनिष्ट पार्टी (माओवादी) को महासचिव बनेसँगैभारतको आतंकवाद विरोधी कानून प्रवर्तन निकाय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को मोस्ट वान्टेड सूचीमा थिए।

    छत्तीसगढका एक वरिष्ठ प्रहरी अधिकारी विवेकानन्द सिन्हाका अनुसार राव र अन्यको मृत्यु भएको गोलीकाण्ड नारायणपुर जिल्लामा भएको थियो, जुन गोलीकाण्डमा वरिष्ठ माओवादी नेताहरू उक्त क्षेत्रमा रहेको गुप्तचर सूचना प्राप्त भएपछि भएको थियो।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक एक्समार्फत् यसलाई उल्लेखनिय सफलता भएको बताएका छन् । उनले एक्समा लेखेका छन्, “यो उल्लेखनीय सफलताको लागि हाम्रा सेनाहरूप्रति गर्व गर्छन् ।”

    यसैबीच, भाकपा माओवादीले महासचिव रावसहितका नेताहरुको हत्याको निन्दा गर्नुको साथै स्वतन्त्र अनुसन्धानको लागि आह्वान गरेको छ।

    १९६० को दशकको अन्त्यतिर पश्चिम बंगाल राज्यमा संगठनात्मक गतिविधि सुरु गरेको भारतीय माओवादीले त्यसपछि भारतको ६ सय  जिल्लाहरूमध्ये एक तिहाइभन्दा बढीमा आफ्ना संगठनात्मक गतिविधिहरुलाई निरन्तरता दिएको छ । 

    नरेन्द्र मोदी नेतृत्वको सरकारले गत महिनादेखि सुरु गरेको  ‘अपरेशन ब्ल्याक फरेस्ट’ नामक कारबाहीमार्फत २०२६ को अन्त्य सम्ममा भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का गतिविधिलाई पूर्ण रुपमा नियन्त्रण गर्ने दाबी गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार