काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न भएको छ ।
आइतबार जावलाखेलमा विशेष समारोहकाबीच मच्छिन्द्रनाथको भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा पनि सम्पन्न भएको छ । भोटो जात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी भएका थिए ।
पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायतले रातो मच्छिन्द्रनाथको भोटोको अवलोकन गरेका थिए । मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पु¥याएको चार दिनपछि भोटो देखाउँने जात्रा हुने परम्परा अनुसार भोटो जात्रा मनाइएको हो ।
मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेवापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित् भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको छ ।
हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले यो भोटो कसको हो भनी देखाउने गर्छन् । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिदै आएको छ । परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरूप नागराजले दिएको किंवदन्ती छ ।
आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले व्यापक खोजी गरेको र कतै नपाएपछि जावलाखेलमा आयोजित रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा एकजना राक्षसले लगाएको देखेको बताइन्छ । ती कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबीच व्यापक विवाद हुनपुग्दा दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोकारूपमा उक्त भोटो राखिएको बताइन्छ ।
