काठमाडौं । अहमदावादमा भएको एयर इण्डियाको विमान दुर्घटनामा एक जनाको जिवीतै उद्धार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनाग्रस्त विमानमा जीवितै रहेका ती व्यक्ति बेलायती नागरिक विश्वास कुमार रमेश रहेका छन् । उनी उक्त विमानको ११ ए सिटमा बस्ने यात्रु रहेको खुलेको जनाइएको छ ।
घाइते विश्वास कुमार रमेशलाई अस्पताल भर्ना गरेर उपचार भैरहेको छ । सञ्चार माध्यमका अनुसार अस्पतालमा उनले आफ्नो बोर्डिङ पास देखाएका र जसमा उनको नाम र ११ ए सिट नम्बर उल्लेख गरिएको जनाइएको छ ।
उनले विमानले उडान सुरु गरेको तीस सेकेन्ड पछि ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ः३८ बजे अहमदाबादबाट उडेको थियो। विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनाग्रस्त विमान बोइङ ७८७–८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।
