काठमाडौं । दक्षिण अफ्रिकाले लर्ड्समा अष्ट्रेलियालाई हराएर २०२५ को आईसीसी विश्व टेस्ट च्याम्पियनशिप जित्दै २७ वर्षको पीडाको अन्त्य गरेको छ ।
एडेम माक्ररम को १ सय ३६ रनको योगदानले प्रोटियाले पहिलो पटक पाँच विकेटको जित हासिल गर्दै दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियनशिपको ट्रफी उचालेको हो । यो सँगै दक्षिण अफ्रिकाले १९९८ को च्याम्पियन्स ट्रफी पछि फैलिएको खडेरीको अन्त्य गरेको छ ।
जितका लागि २ सय ८२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले एक दिन भन्दा बढीको खेल छँदै पाँच विकेट गुमाएर त्यसलाई पछ्याएको हो । एक सय ३६ रनको शतकीय इनिङ्स खेलेर जितको नायक बनेका माक्ररमले २ सय ७ बलको सामना गर्दै १४ चौका प्रहार गरेका थिए ।
नट आउट ब्याटरमध्ये डेविड बेडिनघमले २१ रन बनाए । यस्तै कप्तान टेम्बा बभुमाले ६६ रनको योगदान दिए ।
अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा २ सय ७ रन बनाएर अलआउट भएपछि दक्षिण अफ्रिकाले चुनौतीपूर्ण लक्ष्य पाएको हो । त्यस अगाडि पहिलो इनिङ्समा अस्ट्रेलियाले २ सय १२ रन बनाएयता त्यसको जवाफमा दक्षिण अफ्रिकाले १ सय ३८ रन जोडेको थियो ।
