काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी इरान–इजरायलबीचको युद्धविराम कार्यान्वयनमा आएको दाबी गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल वेबसाइट ट्रुथ सोसलमार्फत इरान र इजरायलबीच युद्धविरामको सहमति सुरु भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, “युद्धविराम अब लागू भएको छ । कृपया यसलाई उल्लङ्घन नगर्नू ।”
ट्रम्पको टिप्प्णी लगत्तै इजरायली सरकारले पनि ट्रम्पको युद्धविरामको प्रस्तावमा आफ्नो सहमति भएको जनाएको छ । एक विज्ञप्ति निकालेर इजरायली सरकारले युद्धविरामको उल्लङ्घनको इजरायलले कुनै पनि कडा प्रतिक्रिया दिने उल्लेख गरेको छ ।
इजरायलले इरान आक्रमणको आफ्नो उद्देश्य पूरा भएकाले युद्धविराम गर्न सहमत भएको बताएको छ । युद्धविराम बारे इरानले भने हालसम्म आधिकारीक रुपमा जवाफ दिएको छैन् ।
ट्रम्पले यस अघि इरान र इजरायलबीच युद्धविराम गर्ने सहमति भएको र २४ घण्टापछि लागू हुने घोषणा गरेपछि इरानी विदेशीमन्त्री सैयद अब्बास अरघचीले अहिले सम्म इरानसँग कुनै पनि युद्धविराम वा सैन्य कारबाही बन्द गर्ने बारेमा कुनै सहमति नभएको बताएका थिए ।
उनले यद्यपि, यदि इजरायली शासनले तेहरान पहिले इरानी जनता विरुद्धको आफ्नो गैरकानूनी आक्रमण रोक्छ भने आफुहरुले प्रतिक्रिया दिने र आफ्नो सैन्य कारबाही बन्द गर्ने अन्तिम निर्णय पछि गरिने बताएका थिए ।
