काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले शान्तितर्फको नोबेल पुरस्कार पाउनुपर्ने भन्दै नर्वेका अर्थ मन्त्रीलाई फोन गरेको गरेको खुलेको छ । नर्वेजियन व्यापार दैनिक डागेन्स नेयरिंग्सलिभले बिहीबार ट्रम्पले शन्ति तर्फको नोबेल पुरस्कार मनोनयनका लागि अर्थमन्त्री जेन्स स्टोल्टनबर्ग रिपोर्ट गरेको छ।
स्विडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा विभिन्न विधामा दिइने नोबेल पुरस्कार स्विडेनमा रहेको नोबेल फाउन्डेसनले दिन्छ।
नोबेल शान्ति पुरस्कार विजेताको छनोट भने नर्वेली नोबेल समितिले गर्छ। सो समितिमा नर्वेली संसदले सिफारिस गरेका पाँच सदस्य हुन्छन्। त्यसैले ट्रम्पले आफ्नो दाबी पेस गर्न नर्वेली मन्त्रीसँग कुरा गरेका हुन्।
नोबेल पुरस्कार पाउने ट्रम्पको उत्कट चाहना छ। उनको पहिलो कार्यकालभन्दा पहिलेका राष्ट्रपति बाराक ओबामाले पनि नोबेल शान्ति पुरस्कार पाएका थिए। ओबामाले केही नगरी नोबेल पुरस्कार पाएको भन्दै ट्रम्पले पहिलो कार्यकालदेखि नै सो पुरस्कारको दाबी गर्दै आएका थिए।
दोस्रो कार्यकालमा पनि उनले बारम्बार त्यसको दाबी गर्दै आएका छन्। इजरायल, पाकिस्तान र कम्बोडिया लगायत धेरै देशहरूले शान्ति सम्झौता वा युद्धविराममा मध्यस्थता गरेकोमा ट्रम्पलाई मनोनित गरिरहेका छन् । गत महिना ट्रम्पले नर्वेका अर्थमन्त्रीलाई करको बारेमा छलफल गर्न फोन गर्दा उनले नोबेल शान्ति पुरस्कार चाहेको पनि बताएका जनाइएको छ ।
ट्रम्प आफ्नो नोबेल पुरस्कार पाउने धोकोलाई पूरा गर्नकै लागि भए पनि सन् २०२२ देखि जारी रुस–युक्रेनबीचको युद्ध रोक्ने रणनीतिक चाल चालेको पनि आशंका गरिएको छ । उनले यस विषयमा वार्ता गर्न रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शुक्रबार नै अमेरिकाको अलास्कामा भेटवार्ता गर्दैछन् । पुटिनसँगको भेटका लागि केही बेर अघि मात्रै ट्रम्प केही बेर मात्र अघि अलास्कार प्रस्थान गरेका छन् ।
रुस र युक्रेनबीचको युद्ध रोक्नको लागि ट्रम्पले दुई देशबीच भूमि साटफेर गर्ने सम्मको प्रस्ताव समेत ल्याएका छन् । पुटिनसँगको यो भेटसँगै रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न सफल भएमा ट्रम्पको नोबेल शान्ति पुरस्कार पाउने धोको थप बलियो बन्ने देखिएको छ ।
