काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (बहुमत) सहित विभिन्न पार्टी निकट १७ वटा विद्यार्थी संगठनले संविधानमा व्यवस्था भएबमोजिम शिक्षा निःशुल्क हुनपर्ने भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनले सोमबार काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर निःशुल्क शिक्षा, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने लगायतका ९ बुँदे माग राखेर चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
“संविधानमा व्यवस्था भए बमोजिम आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा पूर्ण निःशुल्क पाउने व्यवस्था अविलम्व अक्षरशः कार्यान्वयन गर्न जोडदार माग गर्दछौं । संविधानको प्रस्तावनामा ‘समाजवादप्रति प्रतिबद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने’ प्रतिवद्दता समेत व्यक्त गरिएको अवस्थामा ऐनले उक्त मर्मलाई समेत आत्मसात गर्दै समावेशी सिद्धान्तमा आधारित समाजवादी शिक्षा नीति, कार्यक्रम एवं अवधारणाहरुको विकास गरी लागू गर्न माग गर्दछौं,” संयुक्त विद्यार्थी संगठनद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आन्दोलनका कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभा सभामुख, राष्ट्रियसभा अध्यक्ष र शिक्षामन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने, सबै दलका प्रमुख सचेतक/विद्यार्थी पृष्ठभुमिका माननिय, राजनीतिक दलका शिक्षा विभाग प्रमुख र पुर्व विद्यार्थी अध्यक्षहरु सहित वृहत अन्तरक्रिया, निशुल्क शिक्षाका लागि हस्ताक्षर संकलन, प्रचारप्रसार र रचनात्मक प्रदर्शन, देशव्यापी सिडियो कार्यालय मार्फत प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने, उपत्यका लगायत देशव्यापी वृहत विद्यार्थी प्रदर्शन गर्ने लगायतका रहेका छन् ।
हेर्नुहोस विज्ञप्तिको पूर्णपाठः
