काठमाडौं । राष्ट्रिय लोक भजन चुट्का संस्कृती संरक्षण प्रतिष्ठान नेपाल, बाग्मती प्रदेश कमिटिका महासचिव टेकराज पोखरेलले यस वर्षको विजया दशमीको अवसर पारेर नवदुर्गा भवानी भजन सार्वजनिक गरेका छन् ।
भजनलाई धना पोखरेलले शब्दमा उतारेका हुन् भने टेक राज पोखरेल, रबिन्द्र पोखरेल, हरि प्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौसिला पोखरेल र भक्तिराम पोखरेल लगायतले स्वर दिएका छन् । भजनमा प्रमिता पोखरेलको नृत्य निर्देशन रहेको छ भने प्रमिता, शिल्पा, एलिसा, ममता र सम्झनाले प्रस्तुत गरेको आकर्षक नृत्यले भजनलाई झनै मनोरञ्जनपूर्ण र प्रभावशाली बनाएको छ ।
भजनलाई कोहिनुर मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रेकर्डिङ हुरि स्टुडियोमा गरिएको र भिजुअल छायांकन बागबजारस्थित होटल हार्दिकमा सम्पन्न गरिएको महासचिव पोखरेलले जानकारी दिए । छायांकनको निर्देशन बिपिन अनुरागीले गरेका हुन् भने आर.डी. दुलालसहितको प्राविधिक टोलीले क्यामेराको जिम्मेवारी वहन गरेको थियो । उनका अनुसार दिन–रात नभनी मेहनत गर्ने सम्पूर्ण प्राविधिक समूह र कलाकार बधाईका पात्र हुन् ।
टेक राज पोखरेलले यो भजन आफ्नो पाँचौँ सिर्जना रहेको उल्लेख गर्दै भविष्यमा पनि निरन्तर धार्मिक र सांस्कृतिक भजनहरूको रचना, निर्माण र प्रसारणमा संलग्न हुने प्रतिबद्धता व्यक्त गरे । बिजया दसमी पश्चात् तुरुन्तै कृष्णलिला अन्तरगत गोपेनिहरु सङ्गको रोमाञ्चक मोडमा बन्सुरी हरायो मेरो खोजिदेउन बन्सुरी मेरो भन्ने बोलमा छैठौं संकरण पस्किन लागिएको छ । उनका अनुसार अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, स्याङ्जा लगायतका पहाडी जिल्लाहरू तथा तराईका नवलपरासी, रुपन्देही, कपिलवस्तु क्षेत्रमा यस्ता लोकभजन गाउने परम्परा अझै जीवित छ । यस परम्परालाई आधुनिक शैलीमा प्रवाह गर्दै आम दर्शक–श्रोतालाई सन्देश दिनु नै आफ्नो उद्देश्य भएको पोखरेलको भनाइ छ ।
नवदुर्गा भवानीको यस भजनमार्फत विजयादशमी पर्वलाई अझ धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक बनाउन प्रयास गरिएको छ । भजनले नेपाली समाजमा विद्यमान लोक परम्परा र आस्थालाई जोड्दै देवी दुर्गाप्रति श्रद्धा र विश्वासलाई बलियो बनाउने अपेक्षा लिइएको छ ।
